सम्माननीय राष्ट्रपतिद्वारा चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक एक भव्य समारोहबीच अनावरण

  • Sep 24
  • 0
  • admin

वि.सं २०७४ असोज ८ गते आइतबार । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गर्नुभयो ।
आइतबार चन्द्रागिरि हिल्समा आयोजित भव्य समारोहमा मन्त्रीज्यू, विभिन्न राजनीतिक दलका नेताज्यूहरु, सभासदज्यूहरु लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ । मुर्तीकार नविन सुवेदीले सो शालिक निर्माण गर्नुभएको हो ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरिमा उहाँको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले यस चन्द्रागिरि हिल्स लिमिटेडले उक्त शालिक निर्माण गरेको हो ।
नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाह मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरिको बाटो हुदै गर्नुभएको र उहाँले काठमाडौंं उपत्यकाको सुन्दरताका साथै असोज महिनामा यहाँ फलेको लहलह धानदेखि लोभिएर बडो खेतीयोग्य जमिन रहेछ भनी आफ्नो राज्य विस्तारका क्रममा यस काठमाडौँ उपत्यकामाथि नै विजय प्राप्त गर्ने अभियानस्वरुप योजना बनाउनुभएको इतिहास छ ।
त्यस्तै उहाँले हाल भालेश्वर मन्दिर रहेको स्थानमा बसेर यति काठमाडौं उपत्यकामाथि विजय प्राप्त गर्न सकौँ भनी कामना गर्नुभएको तथ्य पनि इतिहासमा भेटिन्छ । यी दुई पक्षको ऐतिहासिकताको सम्बर्धनका लागि यो शालिक निर्माण गरिएको हो । यसले गर्दा यो क्षेत्र नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको संगमस्थलका साथै एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौँ ।
उक्त अनावरण कार्यक्रमलाई सम्बोधनगर्दै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेखगर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्यरज्यौटाहरुलाई एकताको सुत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गर्नुभएको बताउनुभयो ।
उहाँले प्राकृतिक सौन्दर्यले सुशोभित यस पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा यस संस्थाले अहम भूमिका निर्वाह गर्नसक्ने अपेक्षा आफुले गरेको धारणा पनि राख्नुभयो ।
उहाँले चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानमा एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी यस संस्थाले अनुकरणीय काम गरेको चर्चा पनि सो अवसरमा गर्नुभयो ।
सो समारोहलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायाण देवले यस चन्द्रागिरि हिल्सले केवलकारको निर्माणमात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीय काम गरेको चर्चा गर्नुभयो ।
उहाँले आजैमात्र आगामी बर्ष सन् २०१८ को पर्यटन पुरस्कार यस चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी संयोगबस आफुले यस कार्यक्रममा गराउन पाउँदा खुसी लागेको प्रसंग पनि सो कार्यक्रममा उल्लेख गर्नुभयो ।
सो सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले यस ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनका लागि यस चन्द्रागिरि हिल्स लिमिटेडले प्रशंसनीय कार्य गरेको बताउनुभयो ।
यस चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिनुभयो । उहाँले यस लिमिटेडले यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि जानकारी गाराउनुभयो ।
यस लिमिटेडका लगानीकर्ता मिनबहादुर गुरुङले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसहित सबैजना आमन्त्रित आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
हाल यस ऐतिहासिक चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ भने पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्तहोस भनी कामना गर्नुभएको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माण भईसकेको छ । जुन हिन्दू धर्मावलम्बीका लागि अति महत्वपूर्ण र पवित्र स्थल हो । यसै परिसरमा सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण कार्य जारी छ । यो निकट भविश्यमै निर्माण सम्पन्न हुनेछ ।
यसका साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएकोले यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना यस हिल्सले बनाएको छ । अहिले नै यहाँ प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । भोलि यी सबै आयोजनाहरु सम्पन्न भइसक्दा ५०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । अहिलेसम्मको एक बर्षको बीचमा नेपाल सरकारलाई भ्याट तथा स्थानीय करगरी रु ७ करोड २८ लाख राजस्व योगदान गर्न यो हिल्स सफल भएको छ ।
यहाँको भालेश्वर महादेव मन्दिरबाट यो अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाँ भेटिघाटी संकलन भएको छ । यसलाई नेपालमै एक पारदर्शी र व्यवस्थित देवस्थलका रुपमा विकास गरी यसबाट उठेको भेटिघाटीलाई व्यवसायिक प्रयोजनमा खर्च गर्ने नभई एक पारदर्शी फण्डका रुपमा संकलन गरी धार्मिक र सामाजिक कार्यमा लगाउने योजना यस कम्पनीले बनाएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave A Comment

X